ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङस्थित कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसम भएपछि आन्तरिक तथा विदेशी पर्यटकको आवागमन प्रभावित भएको हो ।
कञ्चनजङ्घा आधारशिविरतर्फ गइरहेका पर्यटक मौसम बिग्रिएपछि लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट फर्किएर सुरक्षित स्थान घुन्सामा बसेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार अधिकांश पर्यटक घुन्सामै रोकिएका छन् ।
उनले आधारशिविर जाने पर्यटकमध्ये छ–सात जना मात्रै घुन्साबाट माथिल्लो क्षेत्रतर्फ गएको जानकारी दिए । माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेको र हिमाल हिउँले सेताम्मे देखिएको उनले बताए ।
समुद्री सतहबाट तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा कञ्चनजङ्घा आधारशिविर जाने प्रमुख प्रवेशद्वार हो । घुन्साबाट दुईवटा क्याम्प पार गरेपछि कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ ।
खाम्बाचेन चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन् । यी सबै क्षेत्रमा हिमपात भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक रहेका छन् । उनीहरू विभिन्न बस्ती तथा होटलमा बसेका छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिन क्षेत्रमा पर्यटकको चहलपहल बढी रहेको उनले बताए ।
भदौदेखि कात्तिक १२ गतेसम्म ६०० विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् ।
यसैबीच, जिल्लाको सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । मौसम प्रतिकूल बनेसँगै कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा थप प्रभावित भएको छ ।