चन्दा क्षेत्री/काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अर्धशतकीय पारी खेले।
मोइनले ५१ बलमा अविजित ५८ रन बनाए। उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए। मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।
जनकपुरले ७ रन जोड्दा ओपनर तृतराज दासलाई गुमाएको थियो। तृत ५ रन बनाएर आउट भए। त्यसपछि ३७ रनको अवस्थामा मयन यादव पनि ९ रन बनाएर पभेलियन फर्किए। त्यसपछि मोइन र सैफले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए। काठमाडौँका रिपोन मोन्डलले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।
राहुलले काठमाडौँका ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे। सैफ हसनले २ विकेट लिँदा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक–एक विकेट हात पारे।
काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ तथा हरिशंकर शाह र सुमित महर्जनले क्रमशः ९ र १० रन बनाए।
काठमाडौँले सुरुदेखि नै नियमित विकेट गुमाउँदा ठूलो साझेदारी बनाउन सकेन। साम हिजलेट १, करण केसी ८, जहानदाद खान ५ र रिपोन मोन्डल ९ रनमा आउट भए। मोहम्मद आदिल आलम पहिलो बलमै आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौँलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।