मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ आइपुगेका एक पथप्रदर्शकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २७ वर्षीय लाक्चन्द्र कुलुङ रहेका छन्। उनको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए।
कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सेली महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङ्ला पास पार गरी बुधबार राति वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ पुगेका थिए।
प्रहरी निरीक्षक महतका अनुसार मुक्तिनाथस्थित एक होटलको बाथरुममा नुहाउन गएका कुलुङ लामो समयसम्म बाहिर ननिस्किएपछि होटल सञ्चालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई खबर गरेका थिए।
त्यसपछि खोजी गर्दा कुलुङ बाथरुमभित्र अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।