काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । दुवै टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ ।
काठमाण्डु गोर्खाजले प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाण्डु विजयी सुरुआत गर्ने लक्ष्यमा छ । यता, जनकपुर भने पहिलो जितको खोजीमा मैदान उत्रिएको छ ।
जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो । त्यसैले आजको खेल जित्दै जनकपुर प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ ।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । उसले पहिलो खेलमा पूर्वविजेता जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । उता, विराटनगरले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।
एनपिएलको तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।