काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा सलिको गल्फ प्रतियोगिता २०२६ आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ।
एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। नेपाली कर्पोरेट क्षेत्रका गल्फर सहभागी हुने प्रतियोगिता १८ होलको पार ७२ कोर्समा खेलाइने गल्फ कोर्सका निर्देशक दीपक आचार्यले बताए।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा पार थ्रीको दसौँ होलमा होल इन वान गर्ने पहिलो खेलाडीलाई टाटा नेक्सन गाडी प्रदान गरिनेछ।
कर्पोरेट प्रतिस्पर्धा भएकाले प्रतियोगितामा नगद पुरस्कार राखिएको छैन। पुरुषतर्फ विजेता र उपविजेता, बेस्ट ग्रस, महिलातर्फ विजेता र उपविजेता तथा ६० वर्षमाथिका सिनियर र ७० वर्षमाथिका सुपर सिनियर विजेतालाई पुरस्कृत गरिनेछ।
त्यस्तै, मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र ‘सलिको ३० वर्षको विश्वास’ विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
बुधबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)मा आयोजित पत्रकार सम्मेलनमा सलिकोका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले प्रतियोगिताले सरोकारवाला र कर्पोरेट क्षेत्रसँगको सम्बन्ध थप सुदृढ बनाउने बताए।
“यस्ता खेलकुद प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित हुँदैनन्,” उनले भने, “यसले सौहार्दपूर्ण सम्बन्ध विकास गर्न, व्यावसायिक सम्बन्धलाई बलियो बनाउन तथा साझा मूल्य, इमानदारी, खेल भावना र पारस्परिक सम्मानका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ।”