म्याग्दी– दसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा स्नान गर्न आउनेको चहलपहल बढेको छ। प्राकृतिक तातोपानीमा स्नान गर्दा विभिन्न शारीरिक दुखाइमा राहत मिल्ने आशासहित देशका विभिन्न जिल्लाबाट यहाँ आउनेको सङ्ख्या बढ्दै गएको हो।
नवलपुरको गैँडाकोटका प्रदीप सुवेदी ढाड दुख्ने समस्याबाट राहत पाउने आशामा तातोपानी कुण्ड पुगेका छन्। यसअघि श्रीमतीलाई लिएर आउँदा १५ दिनसम्म स्नान गरेपछि स्वास्थ्यमा सुधार भएको अनुभव सुनाएपछि आफू पनि कुण्डमा आएको उनले बताए।
‘पहिलो पटक श्रीमतीलाई लिएर आएको थिएँ। १५ दिनसम्म तातोपानीमा डुबेपछि उहाँको स्वास्थ्यमा राम्रो सुधार भयो। त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,’ सुवेदीले भने।
बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी पनि लामो समयदेखि खुट्टाको दुखाइको समस्या कम हुने आशामा नियमित रूपमा कुण्डमा स्नान गर्न आउँछन्। विसं २०५८ मा दुर्घटनामा परी खुट्टा भाँचिएपछि दुखाइ भोग्दै आएका शिक्षक केसी विगत १० वर्षदेखि हरेक वर्ष दसैँतिहारको बिदामा सात दिनका लागि यहाँ आउने गरेका छन्। तातोपानीमा स्नान गरेपछि दुखाइ कम हुने गरेको उनको अनुभव छ।
काठमाडौँकी राधादेवी शर्मा विसं २०६३ देखि हरेक वर्ष कुण्डमा स्नान गर्न आउने गरेकी छिन्। नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि तातोपानीमा स्नान गर्न थालेको उनले बताइन्। परिवारका सदस्य र छिमेकीले पनि यहाँ स्नान गरेपछि सहज महसुस गरेको अनुभव सुनाएपछि आफू नियमित आउने गरेको उनको भनाइ छ।
‘घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा स्नान गर्नुमा फरक छ। यहाँको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ,’ शर्माले भनिन्।
दुखाइ कम हुने आशामा स्नान गर्न आउने बढे
बागलुङकी सरिता केसी यस वर्ष पहिलो पटक सिंगा तातोपानी कुण्ड पुगेकी हुन्। छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि दसैँको बिदा मिलाएर यहाँ आएको उनले बताइन्। दसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलाको नसा च्यापिने र टाउको दुख्ने समस्या भएपछि स्नान गर्न आएको उनको भनाइ छ। कुण्डमा स्नान गरेपछि दुखाइमा सुधार भएको र शरीरमा स्फूर्ति आएको उनले अनुभव सुनाइन्।
‘यहाँको वातावरणमा आइपुग्दा मन हलुका भएको महसुस भयो। स्नान गरेपछि शरीरलाई आराम मिलेको छ,’ केसीले भनिन्।
पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना पनि चार वर्षदेखि नियमित रूपमा तातोपानी कुण्डमा आउने गरेकी छिन्। चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उनले बताइन्। आफ्नो अनुभवपछि आफन्त र दिदीबहिनीलाई समेत स्नान गराउन ल्याएको उनको भनाइ छ।
पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल यस वर्ष दोस्रो पटक परिवारसहित कुण्डमा आएकी हुन्। गत वर्ष पहिलो पटक स्नान गरेपछि नसासम्बन्धी समस्यामा सुधार भएको अनुभव उनले सुनाइन्।
‘जेठाजु र जेठानीको सल्लाहमा गत वर्ष पहिलो पटक यहाँ आएकी थिएँ। स्नान गरेपछि स्वास्थ्यमा सुधार भयो। यसपालि आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएका छौँ,’ पौडेलले भनिन्।
उनका अनुसार श्रीमान्लाई पनि युरिक एसिड र ग्यास्ट्रिकको समस्या थियो। कुण्डमा स्नान गर्न थालेपछि स्वास्थ्यमा सुधार भएको उनले बताइन्। म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा उपचारका लागि अस्पताल आउजाउ गर्न र औषधि किन्न लाग्ने समय तथा खर्च बचत भएको अनुभव सुनाए।
स्थानीयवासी तथा कुण्डमा आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन्। केहीले ग्यास्ट्रिकलगायत समस्यामा समेत सहजता महसुस गरेको अनुभव सुनाउने गरेका छन्। यद्यपि, यस्ता अनुभवले सबै रोगको उपचार हुने वा तातोपानीले रोग निको पार्ने प्रमाणित गर्दैनन्।
दैनिक सात सयसम्मले गर्दैछन् स्नान
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्म कुण्डमा स्नान गर्न आउने गरेका छन्। विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार पाँच सय जनासम्म स्नान गर्न आउने गरेको उनले बताए।
‘कुण्डमा एक पटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ। महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,’ अध्यक्ष खड्काले भने।
कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीका अनुसार गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत गरी २१ हजारभन्दा बढी व्यक्ति यहाँ स्नान गर्न आएका थिए। बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
असोजदेखि वैशाखसम्मको अवधिलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ। म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ। कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)का अनुसार यहाँको पानी करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कन्छ र बिरेनुनजस्तो गन्ध आउँछ।
काठमाडौँकी सविना शर्माले पनि तातोपानीमा स्नान र पानी सेवन गरेपछि स्वास्थ्यमा फाइदा भएको आफ्नो अनुभव सुनाइन्।
कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ र नौ दिनका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रवेश शुल्कबाट सङ्कलित रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ।
बाढीले क्षति पुर्याएपछि पुनः सञ्चालन
गत असोजमा भएको अविरल वर्षापछि आएको बाढीपहिरोले सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको थियो। बाढीले कुण्डमा हिलो र फोहोर थुपारेपछि स्थानीयवासी तथा सरोकारवालाले श्रमदान गरेर सरसफाइ र पहिरो पन्छाउने काम गरेका थिए। त्यसपछि असोज २७ गतेदेखि कुण्ड नियमित रूपमा सञ्चालनमा आएको हो।
बाढीपहिरोबाट कुण्डका भौतिक संरचनामा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। छोटो अवधिका लागि आउने पाहुनाले स्नान गर्ने पोखरीमा क्षति पुगेकाले उक्त पोखरी अझै सञ्चालनमा आउन सकेको छैन।
कुण्डको संरक्षण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सर्वेक्षण र लागत अनुमान तयार गरी सरकारसँग बजेट माग गरिएको व्यवस्थापन समितिले जनाएको छ। बाढीका कारण स्नान गर्ने क्षेत्र साँघुरिएकाले पाहुनाको व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
पाहुनाको आगमन बढेसँगै होटल व्यवसायी उत्साहित
तातोपानी कुण्डमा स्नान गर्न विभिन्न जिल्लाबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ। होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन्।
‘यहाँ सानाठूला गरी २० वटा होटल छन्। पाहुनाले घरका कोठा र ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्न पनि सक्छन्,’ घलेले भनिन्।
म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार हो। प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र स्थानीय परिकारको स्वाद लिने अवसरले पनि पाहुनालाई आकर्षित गरेको व्यवसायीको भनाइ छ।
प्राकृतिक रूपमा निस्कने तातोपानी, स्थानीयवासीको आतिथ्य र सहज बसोबासको सुविधाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ। बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र स्नान क्षेत्रको व्यवस्थापन सुधार गर्न सके यहाँको पर्यटन तथा स्थानीय व्यवसाय थप विस्तार हुने अपेक्षा गरिएको छ।