काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गरेसँगै पदबहाली गर्ने भएका हुन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे शपथग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिनेछ । केन्द्रीय निर्वाचन समितिका अनुसार कार्यक्रममा पार्टी सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् ।
नवनिर्वाचित सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सञ्चालन गरिनेछ । कार्यक्रममा निर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा आयोजना गरिएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा भएको थियो ।
असोज २३ गते भएको मतदानपछि सोही दिन राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो । सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न गरिएको हो । उनका अनुसार यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो ।
कुल २२९ पदका लागि निर्वाचन भएको महाधिवेशनमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन् । महाधिवेशनले विभिन्न क्षेत्र, समुदाय र पेसागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
शपथग्रहण तथा पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्ने जनाइएको छ ।
त्यस्तै, बैठकमा पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेसँगै कांग्रेसको आगामी संगठनात्मक गतिविधि र अधिवेशनको तयारीले गति लिने अपेक्षा गरिएको छ ।