चितवन। चितवनमा पहिलोपटक आयोजना हुन लागेको प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका देशबाट करिब आठ सय खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए । आयोजकले राप्ती नगरपालिकाको भण्डारामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । रत्ननगर नगरपालिकास्थित सौराहाको रत्ननगर सभाहलमा हुने प्रतियोगितामा कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका संयोजक प्रज्वल दवाडीका अनुसार ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
टिम च्याम्पियनले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट पुम्से पुरुष तथा महिला, उत्कृष्ट ग्योरोगी पुरुष तथा महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही एक सय अमेरिकी डलर प्रदान गरिने खड्काले बताए ।
चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जिल्लामा तेक्वान्दो खेलको विकास तथा नेपाली खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वयमा हुने प्रतियोगितामार्फत खेलाडीको क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानसँगै सौराहाको पर्यटन प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य छ । सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्दै चितवनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ ।