नारायणगढ । बाढीपहिरो र सडक अवरुद्ध हुँदा प्रभावित बनेको सौराहाको पर्यटन व्यवसायमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । दसैँको बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
दसैँको सुरुआती दिनमा अपेक्षाअनुसार पर्यटक नआए पनि टीकापछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको व्यवसायीले बताएका छन् । पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा अन्य पर्यटन व्यवसायमा उत्साह थपिएको छ ।
सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित बनेको बताए । उनका अनुसार सौराहाका होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको छ ।
“अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ,” उनले भने ।
पर्यटकको आगमन बढेसँगै लामो समयदेखि सुस्ताएको व्यवसायमा राहत मिलेको उनको भनाइ छ ।
सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताए । पर्यटकको सङ्ख्या बढेपछि कोठा बुकिङ र व्यवस्थापनमा केही दिनअघिदेखि नै व्यस्तता बढेको उनले जानकारी दिए ।
उनका अनुसार रिसोर्टका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको उनले बताए ।
“पाहुनालाई कोठा पु¥याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन्,” उनले भने ।
पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछि सौराहामा पर्यटकको आगमन राम्रो रहेको बताए । सार्वजनिक बिदा र चाडपर्वका कारण पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।
सौराहा घुम्न आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाच प्रमुख आकर्षणका रूपमा रहेका छन् । अहिलेको मौसम पनि भ्रमणका लागि अनुकूल रहेकाले उनले स्वदेशी तथा विदेशी पर्यटकलाई सौराहा आउन आग्रह गरे ।
सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी गर्न सकिन्छ । त्यस्तै, राप्ती नदीमा डुङ्गा सयर र हात्ती सफारीको सुविधा पनि उपलब्ध छ । डुङ्गा सयरका क्रममा नदीमा पाइने जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिने तिवारीले बताए । पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका गतिविधि सञ्चालन हुँदै आएका छन् ।
“यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ,” उनले भने । पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई ठूलो राहतसँगै नयाँ उत्साह दिएको उनको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले पनि दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताए । उनका अनुसार यसपटक आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको सङ्ख्या पनि बढेको छ ।
“हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ,” उनले भने ।
भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको घिमिरेले बताए । बाढीपहिरो र सडकको अवस्थाले पर्यटकको बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक सौराहा निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा परिचित छ । वन्यजन्तु अवलोकन, जङ्गल सफारी र थारू संस्कृतिको अनुभव लिन पाइने भएकाले सौराहा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै आएको छ ।