काठमाडौँ । आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी पाँच दिन देशका विभिन्न भूभागमा मौसम आंशिक बदली रहने देखिएको हो।
बुलेटिनअनुसार शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा कोशी प्रदेशका हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। मंगलबार र बुधबार देशभर आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। ती दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराई, काठमाडौँ उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्नेछ। यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले आगामी तीन दिन तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन नियमित रूपमा मौसम पूर्वानुमान बुलेटिन हेर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।