काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले दुई तिहाइको सरकारका गतिविधिबारे विभिन्न टिप्पणी भइरहँदा आफ्नो पार्टी तमासा हेरेर मात्रै बस्न नसक्ने बताएका छन् ।
पार्टीले आजदेखि सुरु गरेको दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले दुई तिहाइको सरकारले जनताको आकांक्षा पूरा गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने तथा लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउने अपेक्षा गरिएको बताए ।
‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ । जनताका इच्छा–आकांक्षा पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ र सुदृढ गर्नेछ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर अनेकौँ खालका कुरा देखिरहँदा स्वाभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ ।’
यही परिस्थितिलाई मध्यनजर गर्दै पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको उनको भनाइ थियो । अभियानमार्फत जनतामाझ पुगेर उनीहरूका अपेक्षा, आकांक्षा र गुनासा सुन्ने तथा पार्टीले आफ्ना गतिविधिको आत्मसमीक्षा गर्ने उनले बताए ।
नेपालले अभियानलाई गाउँ र वडा केन्द्रित बनाइने जानकारी दिँदै जनताका धारणा बुझेर त्यसको समीक्षा गरिने उल्लेख गरे ।
‘हामीले अभियान चलाऔँ, जनताका बीचमा जाऔँ र गाउँ तथा वडाकेन्द्रित बनौँ भन्ने सोच बनाएका छौँ । जनताका आशा, आकांक्षा र गुनासा के छन्, ती सबै सुनौँ र त्यसको समीक्षा गरौँ भन्ने उद्देश्यले अभियान सुरु गर्न लागेका हौँ,’ उनले भने ।
उनका अनुसार अभियानलाई प्रभावकारी बनाउन बृहत् कार्यकर्ता भेला गरी योजना बनाइएको छ । त्यसैमार्फत पार्टीका धारणा र सन्देश जनतामाझ पुर्याइने उनले बताए ।