संखुवासभा । नेपाली सेनाको सहयोगमा अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल–चीन जोड्ने महत्त्वपूर्ण सडकखण्डमा तीन महिनादेखि अवरुद्ध यातायात सेवा पुनः सुरु भएको हो।
गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सवारीसाधन आवतजावत ठप्प भएपछि उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले अवरोध हटाउन नेपाली सेनासँग सहयोग मागेको थियो।
आयोजनाको आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको सैनिक टोलीले पहिरोमा खसेका विशाल चट्टान हटाउन सहयोग गरेको थियो। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) मार्फत ठूला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो। त्यसपछि आयोजनाले चट्टान हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।
आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार चट्टानको आकार र भौगोलिक अवस्थाका कारण सामान्य उपकरण प्रयोग गरेर पहिरो हटाउन सम्भव थिएन। त्यसैले विस्फोटक पदार्थ प्रयोग गर्नुपरेको थियो।
उनले भने, “भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो।”
सडक अवरुद्ध हुँदा स्थानीयवासीको दैनिक आवागमन, खाद्यान्न तथा अन्य सामग्रीको ढुवानी र जनजीवन प्रभावित भएको थियो। सडक पुनः सञ्चालनमा आएसँगै उत्तरी सीमावर्ती क्षेत्रका बासिन्दालाई आवतजावत गर्न तथा सामान ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ।
किमाथाङ्का नाका नेपाल र चीनबीचको व्यापारिक तथा पारवहन सम्पर्कका लागि महत्त्वपूर्ण मानिन्छ। प्राकृतिक विपद् र सडक अवरोधका कारण विभिन्न उत्तरी नाकामा आवागमन प्रभावित भइरहेका बेला खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा आउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
खाँदबारीबाट करिब १४१ किलोमिटर र किमाथाङ्काबाट करिब २१ किलोमिटर दूरीमा रहेको छुम्सुर क्षेत्र भौगोलिक रूपमा विकट छ। वर्षायाममा पहिरो खस्ने र ठूला चट्टान सडकमा थुप्रिने समस्याले यस क्षेत्रमा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण बन्दै आएको छ। सडक आयोजना कार्यालयका अनुसार अन्य खण्डमा भने नियमित मर्मतसम्भारमार्फत यातायात सञ्चालन भइरहेको छ।
खाँदबारी–किमाथाङ्का सडकको कुल लम्बाइ १६२ किलोमिटर रहेको छ। यसमध्ये कडा चट्टान र विकट भूगोलका कारण निर्माण गर्न कठिन १०.८ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी सडक निर्माण सम्पन्न गरेको थियो। उक्त सडक गत वैशाखमा हस्तान्तरण गरिएको थियो।
किमाथाङ्का–जोगबनी सडकखण्डलाई चीन र भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरलगायत जिल्लाका बासिन्दालाई व्यापार, यातायात तथा आवागमनमा लाभ पुग्ने अपेक्षा गरिएको छ।
रणनीतिक महत्त्व बोकेको यस सडकखण्ड पुनः सञ्चालनमा आएसँगै उत्तरी सीमासम्मको पहुँच सहज हुनुका साथै स्थानीय जनजीवन र क्षेत्रीय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।