काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम अगुवा अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसका सभापति गगन थापाको पछिल्लो शैलीप्रति कडा आपत्ति जनाउँदै उनी कट्टर हिन्दूवादी नेताको रूपमा प्रस्तुत भएको आरोप लगाएका छन्।
गगन थापाले कांग्रेसको पार्टी कार्यालयमा पण्डित बोलाएर स्वस्ति वाचन गराउँदै पद धारण गरेको सन्दर्भलाई लिएर नेता अन्सारीले उक्त टिप्पणी गरेका हुन्।
अन्सारीका अनुसार नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले कहिल्यै पार्टी कार्यालय वा राजनीतिक जीवनमा पूजापाठ गराएको इतिहास छैन। कांग्रेसका कुनै पनि पूर्वसभापतिले पण्डित डाकेर स्वस्ति वाचन गराउँदै पदभार ग्रहण नगरेको स्मरण गराउँदै उनले भने, ‘नेपाली कांग्रेस कट्टर हिन्दूवादी पार्टी होइन तर गगन थापा भने कट्टर हिन्दूवादी नेताका रूपमा देखिन थालेका छन्।’
‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्थे, हो रहेछ,’ अन्सारीले व्यङ्ग्य गर्दै भने, ‘गगन थापाले पार्टी कार्यालयमा स्वस्ति वाचन गराएर सिङ्गो नेपाली कांग्रेसलाई हिन्दू धर्मको ठेकेदार बनाउन खोजेका छन्। कांग्रेस कुनै जातजाति, धर्म संस्कृति बोकेका मानिसहरूको संगठन मात्र होइन। यो एक उदारवादी लोकतान्त्रिक पार्टी हो। जसले कुनै एक धर्मलाई बोक्दैन।’
राजनीतिमा धर्म मिसाउनु उपयुक्त नहुने बताउँदै अन्सारीले थपे, ‘जब राजनीतिमा धर्म मिसिन्छ, तब त्यो भद्दा र कुरुप देखिन्छ। स्वस्ति वाचन र पूजापाठ गर्न पाइन्छ, तर त्यो गगन थापाको निजी घरमा हुनुपर्थ्यो, कांग्रेसको साझामूलक पार्टी कार्यालयमा होइन।’
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कट्टर हिन्दूवादी नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले समेत पार्टी अध्यक्षको पद ग्रहण गर्दा यसरी स्वस्ति वाचन नगरेको दाबी गर्नुभयो। यस्तै प्रकृतिको शैली यसअघि बालेन्द्र शाहले शीतल निवासमा देखाएको प्रसङ्ग पनि अन्सारीले उल्लेख गरे।
गगन थापालाई ‘ढोंगी निरपेक्षवादी’ को संज्ञा दिँदै अन्सारीले उहाँको धार्मिक आचरण र प्रदर्शनमाथि प्रश्न उठाएका छन्। ‘ग्लुस्टिकले टाउकोमा फूल टाँस्ने र निधारमा टीका लगाउने जस्ता अनौठा कार्य गरेर उहाँले आफ्नो ढोंग सार्वजनिक गर्नुभएको छ,’ उनले भने।
साथै, २०८२ भदौ २४ गतेको घटनालाई सङ्केत गर्दै अन्सारीले उक्त विध्वंस र आगजनीलाई महाधिवेशनमार्फत् मान्यता दिइएकाले थापाले त्यही घटनावृत्तको ‘खरानी’ घसेको टिप्पणी गरे। राजनीतिलाई धर्मनिरपेक्ष मूल्य-मान्यताभन्दा बाहिर लगेर सस्तो लोकप्रियताका लागि धार्मिक आड लिएको भन्दै उनले थापाको कार्यशैलीको तीव्र आलोचना गरेका छन्।