ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रतर्फ र देखावटी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने बताएका छन्। व्यक्तिकेन्द्रित चमत्कारभन्दा बलिया र प्रभावकारी संस्थाबाट मात्रै दिगो परिवर्तन सम्भव हुने उनको भनाइ छ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले मुलुकको आर्थिक शिथिलता र समाजमा कायम विभेदका कारणबारे गम्भीर बहस आवश्यक रहेको बताए।
“नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्ने छ,” उनले भने, “दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ।”
थापाले न्यून आर्थिक वृद्धिदर र कमजोर स्रोत परिचालनका कारण अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए। संविधानले मौलिक हक र सामाजिक सुरक्षाको प्रत्याभूति गरे पनि समाजमा विभेदका पर्खाल कायम रहनु गम्भीर समीक्षाको विषय भएको उनको भनाइ छ।
कांग्रेसले राष्ट्रिय मुद्दामा गम्भीर बहसको नेतृत्व गर्दै नागरिकका समसामयिक प्रश्नको वैचारिक उत्तर दिने पार्टीका रूपमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले जनाए।