काठमाडौं । नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण आगामी २०८३ फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ।
एनएफएलका अध्यक्ष कल्याण गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली फुटबलको विकास, विस्तार र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले लिग आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालमा फुटबल लोकप्रिय खेल भए पनि अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित सफलता हासिल गर्न नेपाली फुटबलले लामो समयदेखि संघर्ष गर्दै आएको छ। यस्तो अवस्थामा फुटबललाई नयाँ दिशा दिन सबै सरोकारवाला पक्ष एकजुट हुन आवश्यक रहेको उनले बताए।
‘हाम्रो एउटै उद्देश्य नेपाली फुटबललाई पूर्ण व्यावसायिक बनाउने हो,’ गुरुङले भनेका छन्, ‘यो गन्तव्यमा पुग्न समय लाग्ने भए पनि लक्ष्य प्राप्तिका लागि हामी हरपल मिहिनेत गर्नेछौँ।’
लिगको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबसहित अन्य नयाँ टोलीले समेत प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी सहभागी हुनेछन्।
यी सात सहरबाहेक अन्य सहरका टोलीलाई समेत प्रतियोगितामा समेट्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। यसले देशभर फुटबलको विस्तार र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
रंगशालाको उपलब्धताअनुसार लिगका खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ। तयारी अवधिसमेत जोड्दा प्रतियोगिता करिब चार महिनासम्म चल्ने आयोजकको योजना छ। देशका विभिन्न सहरमा खेल सञ्चालन गरेर फुटबलप्रति जनचासो बढाउने र देशव्यापी रूपमा खेलकुदको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ।
अध्यक्ष गुरुङका अनुसार एनएफएल घरेलु फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले क्लबहरूकै अग्रसरतामा स्थापना गरिएको साझा संस्था हो। लिगको आयोजना एनएफएलले गर्नेछ भने सहभागी क्लबहरू यसका सदस्यका रूपमा रहनेछन्।