काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लामा नियमित गस्तीका क्रममा लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद ३० हजार रुपैयाँसहित आठ जनालाई पक्राउ गरिएको छ। त्यस्तै, काठमाडौँको सुन्धाराबाट एक जना पक्राउ परेका छन्।
सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोल र ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक–एक जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट पाँच किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा र नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक–एक जना पक्राउ परेका छन्। झापाको दमक नगरपालिका–७ बाट चार जना तथा मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक जना पक्राउ परेका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ६७ हजार ४०० रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित स्थानीय रामनरेश कुर्मी पक्राउ परेका छन्। त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक जना र कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरिएको हो। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।