काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने तयारी गरेको छ। उक्त प्रविधि प्रयोगमा ल्याउन डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।
क्यानका सचिव पारस खड्काले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डीआरएससम्बन्धी प्रक्रिया अघि बढाइएको र आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने बताए। उनका अनुसार प्रविधि जडानको खर्च क्यान र एनपीएलका आठवटै फ्रेन्चाइज टोलीले संयुक्त रूपमा व्यहोर्ने योजना छ।
डीआरएस लागू हुँदा खेलको अवधि आधा घण्टासम्म बढ्न सक्ने भएकाले निर्धारित खेल तालिकामा समेत हेरफेर हुनसक्ने खड्काले बताए। हाल दिउँसो साढे ४ बजे सुरु गर्ने योजना रहेको खेल डीआरएसका कारण ढिलो सकिन सक्ने देखिएपछि समय व्यवस्थापनबारे छलफल भइरहेको छ।
हालको अनुमानअनुसार खेल साँझ सवा ७ देखि साढे ७ बजेसम्म सकिने भए पनि डीआरएस लागू भए राति ८ देखि सवा ८ बजेसम्म लम्बिन सक्नेछ। डबल हेडर अर्थात् एकै दिन दुई खेल हुने दिनमा समय व्यवस्थापन थप चुनौतीपूर्ण हुनसक्ने भएकाले खेल केही छिटो सुरु गर्ने विकल्पमा समेत छलफल भइरहेको छ। चिसो मौसम र शीतको प्रभावलाई पनि ध्यानमा राखेर समय निर्धारण गरिने जनाइएको छ।
डीआरएसका लागि आवश्यक खर्च कमर्सियल मिडिया राइट्सबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत बाँडफाँट हुने हिस्साबाट समायोजन गर्ने योजना रहेको क्यानले जनाएको छ। यसबाट कुनै एक पक्षमाथि मात्रै आर्थिक भार नपर्ने अपेक्षा गरिएको छ।
एनपीएललाई थप प्रतिस्पर्धात्मक, निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस आवश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगिएपछि प्रविधि कार्यान्वयन र खर्च व्यवस्थापनबारे विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।