काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार उक्त प्याकेजको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
टेलिकमले ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिमा आधारित नयाँ प्याकेज ल्याएको हो।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेटका लागि ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ।
टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क उपलब्ध गराउने जनाएको छ। साथै, यी प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्कसमेत नलिने व्यवस्था गरिएको छ।
टेलिकमका अनुसार नयाँ इन्टरनेट प्याकेज तथा अन्य सुविधाहरू आजदेखि लागू हुनेछन्।