काठमाडौँ । आईएसएफ फुटबल विश्वकपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ। प्रतियोगिता अक्टोबर १७ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङ्बो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन्।
टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन्। टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समिति सदस्यसमेत रहेका विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की छन्।
त्यसैगरी, टोलीका अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई रहेका छन्। टोलीको प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने छन्।
महासचिव कार्कीका अनुसार छनोट प्रतियोगितामार्फत खेलाडी चयन गरिएको हो। छनोट प्रक्रियामा ३७२ खेलाडी सहभागी भएका थिए। प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरी उनीहरूमध्येबाट अन्तिम २० खेलाडी चयन गरिएको कार्कीले जानकारी दिनुभयो।
चीन प्रस्थान गर्न लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप सदस्य मोनालिसा खम्बूलगायतले शुक्रबार बिदाइ गरेका छन्।