
काठमाडौं – नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफ्ताव आलमलगायत रौतहट बम विष्फोटको घटनामा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने मागसहित न्यायपरिषदमा उजुरी परेको छ ।
युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् । उनीहरु पदमा रहँदा न्याय सम्पादन नै प्रभावित हुन सक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।
न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भिर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानविन हुनसक्ने व्यवस्था । निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई निवेदन दिएका हुन्। गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विष्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्व सांसद मोहम्मद आफ्ताब आलमलगायतलाई सफाइ दिने फैसला गरेको थियो । फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्य सम्पादनमाथि प्रश्न उठेको छ।