काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमै आयोजना गर्ने तयारी भइरहेको छ। उक्त बैठक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका क्रममा आयोजना गर्नेबारे छलफल अघि बढेको नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले बताएका छन्।
सिंहका अनुसार आईसीसी बोर्ड बैठक एनपीएलकै दौरान नेपालमा आयोजना गर्ने विषयमा छलफल एक चरणसम्म अघि बढिसकेको छ। केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले चाँडै नै यसबारे औपचारिक जानकारी आउने उनले बताए।
आईसीसीका प्रतिनिधिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनसँगै नेपाली क्रिकेटलाई समेत सकारात्मक प्रभाव पार्ने सिंहको भनाइ छ।
एनपीएलको उत्तरार्द्धमा केही खेल मात्र बाँकी रहेका बेला आईसीसी बोर्ड बैठक आयोजना हुनसक्ने उनले बताए। त्यस समयमा नेपालमा भइरहेको क्रिकेट गतिविधि प्रत्यक्ष रूपमा देखाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटबारे सकारात्मक वातावरण निर्माण गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि त्रिवि क्रिकेट मैदानमा तयारीका काम तीव्र पारिएको छ।