काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ लोकगायक बिमलराज क्षेत्रीले खुला सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेका क्षेत्री लामो समयदेखि कांग्रेसको राजनीतिसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय छन्।
कांग्रेससँग क्षेत्रीको सांगीतिक सम्बन्ध पुरानो छ। उनले पार्टीका लागि ‘कांग्रेसको सिपाही म’, ‘जय नेपालको नाराले’ लगायतका चुनावी गीतमा स्वर तथा संगीत दिएका छन्। ‘सुन सुन साथी मेरो देब्रे छाती, छातीभित्र मुटु, मुटुभित्र नेपाली कांग्रेस पार्टी’ बोलको चर्चित गीतसमेत उनले गाएका हुन्।
लोकदोहोरी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय क्षेत्रीका ‘बल्लै भो भेट’, ‘जापान टोकियो’, ‘रानीघाटैमा’, ‘डुल्छु रनबन’ र ‘हिमाल सेतै छ’ लगायतका गीत चर्चित छन्। यी गीतमार्फत उनले लोकसंगीतमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
सांगीतिक यात्रासँगै राजनीतिमा पनि सक्रिय क्षेत्री स्कुले जीवनदेखि नै कांग्रेसका विभिन्न भ्रातृ संगठनमार्फत पार्टी राजनीतिमा जोडिएका थिए। लामो राजनीतिक संलग्नता, संगठनात्मक अनुभव र सांगीतिक यात्राबाट अर्जित जनसम्बन्धलाई पार्टीको नेतृत्व र नीति निर्माणमा उपयोग गर्दै योगदान पुर्याउने उद्देश्यले उनले सहमहामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुला सहमहामन्त्री पदमा क्षेत्रीसहित नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।