म्याग्दी । मनसुनजन्य विपद्का कारण बाढीपहिरोले अवरुद्ध बनेको चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मतका क्रममा प्रमुख चुनौतीका रूपमा रहेको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले करिब २५० मिटर सडक कटान गरी बगाएको थियो । सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार चार दिनको निरन्तर प्रयासपछि कुनौटामा दुईतर्फबाट सडक जोडिएको हो ।
उनका अनुसार सडकमा माटो फिलिङ र लेभल मिलाउने काम भइरहेको छ । सवारीसाधन सञ्चालनयोग्य बनाउन अझै एक–दुई दिन लाग्ने अनुमान गरिएको छ ।
बुधबार कुनौटामा दुवैतर्फबाट छवटा एक्साभेटर र सोही सङ्ख्यामा टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्गबाहेक कुनौटासहित अन्य अवरुद्ध स्थानमा प्रारम्भिक मर्मतको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ५५ स्थानमा अवरुद्ध भएको थियो । असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकीमा आएको बाढीले विभिन्न १० स्थानमा सडक कटान तथा क्षति पुर्याएको थियो ।
हाल मालढुङ्गादेखि कुनौटा तथा कोरलादेखि पोखरेबगर सडक पुलसम्म ठूला सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ । पोखरेबगर–कुनौटा खण्डका रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलालगायत स्थानमा पहिरो पन्छाउने, नयाँ मार्ग निर्माण भएका ठाउँमा ग्रेड तथा घुम्ती मिलाउने, सडक फराकिलो बनाउने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
पोखरेबगर पुलमा ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम पनि भइरहेको छ । योजनाका प्राविधिक विनोद पौडेलका अनुसार आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक कटान भएपछि वैकल्पिक मार्ग निर्माण गरी सडक खुलाइएको छ । सुरुमा इन्धन अभाव चुनौती बने पनि नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोग तथा सापटीबाट इन्धन व्यवस्थापन भएपछि काममा सहजता आएको आयोजनाले जनाएको छ ।
सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहितको जनशक्ति परिचालन गरी सडक खुलाउने कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।
उनका अनुसार सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध भएका सबै स्थानमा समानान्तर रूपमा काम गरिरहेका छन् । आर्थिक वर्ष २०७३/७४ मा निर्माण सुरु भएको यस सडकमा यसपटकको विपद्ले हालसम्मकै ठूलो क्षति पुर्याएको छ ।
सडकमा करिब ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि भने करिब तीन अर्ब रुपैयाँ लाग्ने सडक विभागको प्रारम्भिक आकलन छ ।
रसुवागढी र तातोपानी नाका बन्द रहेका कारण चीनसँगको व्यापारका लागि कोरला नाका अहिले झनै महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
सडक अवरुद्ध हुँदा काठमाडौंलगायत विभिन्न सहरमा चीनबाट आयात गरिएका सामान बोकेका करिब ५०० कन्टेनर गन्तव्यतर्फ जान पर्खिरहेका छन् । यस्तै, मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिँदै गएको छ ।
पर्यटकीय याम सुरु भइसकेकाले पनि बेनी–जोमसोम सडकलाई यथाशीघ्र पूर्णरूपमा सञ्चालनमा ल्याउन दबाब बढेको छ।