म्याग्दी । पछिल्लो वर्षापछि आएको बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको मर्मत कार्य सुरु भएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी र जोमसोम दुवैतर्फबाट सडक मर्मत थालेको हो। आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्मको सडक मर्मत भइसकेको छ।
उनका अनुसार कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति पुगेको छ। मालढुङ्गादेखि बेनी हुँदै गलेश्वर तथा जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्मको सडक मर्मतपछि यातायात सञ्चालनमा आएको छ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक खुलाउन स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण तथा मजदुर परिचालन गरिएको छ।
त्यस्तै, असोज ११ गते कालीगण्डकी नदीको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि सुरु गरिने आयोजनाले जनाएको छ।
बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्कसमेत प्रभावित भएको छ। कोरला नाकाबाट सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा मुस्ताङसँगै म्याग्दीका अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको छ।
सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ र आलु बजारसम्म पुर्याउन समस्या भएको छ। दसैँका लागि बिक्री गर्न लैजानुपर्ने भेडाच्याङ्ग्राको ढुवानीसमेत प्रभावित भएको छ। सडक अवरुद्धसँगै मुस्ताङको पर्यटकीय गतिविधि पनि प्रभावित बनेको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपर्ने अवस्था आएको छ।
सडक खुलाउन कटिङ, फिलिङ, डाइभर्सन तथा नयाँ मार्ग निर्माणका विकल्प अपनाइएको छ। तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा भने सडक खुलाउन चुनौती देखिएको छ। यसअघि सडक रहेको स्थान कालीगण्डकीले कटान गरेपछि आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगेको छ।
सडक सञ्चालनमा ल्याउन स्वीचयार्डमा प्रयोगमा नरहेका वैकल्पिक दुई टावर हटाउनुपर्ने अवस्था आएको छ। टावर हटाउन राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरका सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। सडक मर्मतका लागि आवश्यक इन्धन आपूर्तिलाई सहज बनाउने प्रयाससमेत भइरहेको उहाँले जानकारी दिए।