नागोया, जापान।
जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले पदक पक्का गरेको छ। बिहीबार श्रीलंकालाई ३४–२४ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेपछि कम्तीमा कांस्य पदक सुनिश्चित भएको हो।
कप्तान मनमती विष्टको नेतृत्वमा उत्रिएको नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा नेपालले थप १५ अंक जोड्दा श्रीलंकाले ११ अंक मात्र जोड्न सक्यो।
रेडमा कमजोर देखिए पनि डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आउटबाट १४, बोनसबाट २, अलआउटबाट २ र सुपर ट्याकलबाट १ अंक जोडेको थियो।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो।
सेमिफाइनल पुग्ने टोलीको पदक सुनिश्चित हुने भएकाले नेपालले लगातार दोस्रो एसियाली खेलकुदमा महिला कबड्डीमा पदक जित्ने भएको छ। २०२३ मा हान्झाउमा भएको एसियाडमा पनि नेपालले कांस्य पदक जितेको थियो।