सर्लाही । वैदेशिक रोजगारीका लागि पटक–पटक विदेश पुगेका हरिवन नगरपालिका–४ सासापुरका महमद अकबर अन्सारी अहिले आफ्नै खेतबारीमा व्यस्त छन् । करिब चार दशक उमेरका अन्सारीका लागि व्यावसायिक तरकारीखेती परिवारको गुजारा चलाउने माध्यम मात्र नभई आम्दानी र सम्पत्ति जोड्ने आधार बनेको छ ।
आठ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडाखेती गर्दै आएका अन्सारीले यस वर्ष सात बिघा क्षेत्रफलमा टमाटर लगाउने तयारी गरेका छन् । हरिवन नगरपालिका–२ पाकरगाछी नजिकैको खेतमा उनी मंगलबार गोलभेँडाको बेर्ना तयार गर्ने काममा व्यस्त थिए ।
उनका अनुसार सात बिघामध्ये तीन बिघामा दुई चरणमा बेर्ना सारिसकिएको छ । थप दुई बिघाका लागि टनेलमा बेर्ना तयार अवस्थामा छन् भने बाँकी दुई बिघामा रोपाइँका लागि बीउ राख्ने काम भइरहेको छ ।
अन्सारीले अधिकांश क्षेत्रफलमा ‘कविता’ जातको गोलभेँडा लगाउने गरेका छन् । बजारमा माग राम्रो भएकाले आफूले यही जातलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ ।
“जोखिमको खेती भए पनि अहिलेसम्म लगानी नै डुब्ने अवस्था आएको छैन,” अन्सारीले भने ।
भदौको सुरुआतदेखि गोलभेँडाको बेर्ना तयार गर्न थालिन्छ । करिब २५ देखि ३० दिनको भएपछि बेर्नालाई तयार खेतमा सारिन्छ । त्यसपछि ३० देखि ४५ दिनमा उत्पादन सुरु हुने अन्सारीले बताए ।
विदेशबाट फर्किएपछि खेतीमै भविष्य
अन्सारी सन् २००९ को अन्त्यतिर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । करिब साढे चार वर्ष कतार बसेर फर्किएपछि रोजगारीको विकल्प नहुँदा उनी फेरि विदेशिए । दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुगेका उनी एक वर्षमै स्वदेश फर्किए ।
“पाँच वर्षभन्दा बढी विदेशमा दुःख गरेँ, तर ठूलो उपलब्धि हासिल गर्न सकिनँ,” उनले भने, “त्यसपछि गाउँमै पितापुर्खाले गर्दै आएको व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिने योजना बनाएँ । अहिलेसम्म राम्रो भइरहेको छ ।”
त्यसयता गोलभेँडासहित विभिन्न तरकारीखेती गर्दै आएका अन्सारीले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले चार सन्तानको पढाइ तथा परिवारको खर्च यही आम्दानीबाट धान्दै आएका छन् ।
“चार सन्तान यही आम्दानीबाट पढाइरहेको छु । जेठो छोरा भारतमा पढ्दै छ भने तीन जना यतै पढिरहेका छन्,” उनले भने, “घरखर्च मात्रै महिनामा करिब एक लाख रुपैयाँ हुन्छ । त्यसका लागि मेरो मुख्य आधार यही खेती हो ।”
१० बिघामा खेती गरेर ७५ लाखको उत्पादन
अन्सारीसँग आफ्नै करिब पाँच कट्ठा जग्गा छ । बाँकी जग्गा उनले हरेक वर्ष ठेक्कामा लिएर खेती गर्छन् । एक बिघा जग्गाको वार्षिक भाडा करिब ६० हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए ।
वर्षायाममा मकै र बाँकी समयमा गोलभेँडासहित हरियो तरकारी लगाउने गरेका अन्सारीले गत वर्ष १० बिघा क्षेत्रफलमा गोलभेँडाखेती गरेका थिए । उक्त खेतीबाट ७५ लाख रुपैयाँभन्दा बढीको उत्पादन भएको उनको भनाइ छ ।
बीउबिजन, मलखाद, जग्गाको भाडा, ज्यालालगायत खर्च कटाएर ५० लाख रुपैयाँभन्दा बढी मुनाफा भएको उनले बताए । सोही आम्दानीबाट घरमा एक तला थप्नुका साथै दुई कट्ठा १० धुर घडेरीसमेत किनेको अन्सारीले जानकारी दिए ।
एकैपटक नभई तीन–चार चरणमा खेती
गोलभेँडा छिट्टै बिग्रिने भएकाले उचित समयमा उत्पादन बजारमा पुर्याउन नसक्दा किसानले राम्रो मूल्य नपाउने अन्सारीको अनुभव छ । विगतमा भारतबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिँदा स्थानीय किसान थप प्रभावित हुने गरेको उनले बताए ।
उनका अनुसार पछिल्लो समय भारतबाट गोलभेँडा आउने क्रम घटेपछि स्थानीय उत्पादनले तुलनात्मक रूपमा राम्रो मूल्य पाउन थालेको छ ।
मौसम र बजार मूल्यको जोखिम कम गर्न अन्सारीले एउटै समयमा सबै खेतमा गोलभेँडा लगाउँदैनन् । उनी १० देखि १५ दिनको अन्तरमा तीनदेखि चार चरणमा बेर्ना सार्छन् ।
“एकैपटक सबै खेती गर्दा मौसम बिग्रियो वा बजार मूल्य घट्यो भने सबै उत्पादनमा असर पर्छ,” उनले भने, “चरण–चरणमा खेती गर्दा कुनै एक लटमा समस्या आए पनि अर्को लटबाट लगानी जोगाउन सकिन्छ ।”
तीन दशकभन्दा लामो पारिवारिक अनुभव
अन्सारीका लागि गोलभेँडाखेती नयाँ व्यवसाय भने होइन । उनका बुबाले ३५ वर्षदेखि गोलभेँडाखेती गर्दै आएका छन् । अहिले उनका दाजुभाइ, काकालगायत परिवारका सदस्यले समेत ३० बिघाभन्दा बढी क्षेत्रफलमा गोलभेँडाखेती गर्दै आएका छन् ।
पारिवारिक अनुभवबाट खेतीको राम्रो ज्ञान हासिल गरेका अन्सारीले मुख्य सिजनलाई छल्दै उत्पादन बजारमा पुर्याउने प्रयास गर्छन् । यसबाट उत्पादनले राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ ।
हरिवन नगरपालिका–२ का किसान मुखचन्द्र महतोका अनुसार उन्नत ‘कविता’ जातको गोलभेँडाको बीउ प्रतिप्याकेट करिब एक हजारदेखि एक हजार एक सय रुपैयाँसम्म पर्छ । बेर्ना तयार गर्ने, खेत तयारी गर्ने र रोपाइँ गर्दासम्म प्रतिकट्ठा १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने उनले बताए ।
मौसममा हुने फेरबदल, शीतलहरलगायत कारण खेतीको लागत बढ्ने जोखिम रहेको महतोको भनाइ छ । रोपाइँको समयमा आवश्यक मलखाद नपाउँदा महँगोमा किन्नुपर्ने समस्या पनि किसानले भोग्दै आएको उनले बताए ।
दुई हजार हेक्टरमा व्यावसायिक गोलभेँडाखेती
नेपालमा व्यावसायिक गोलभेँडाखेती हुने प्रमुख क्षेत्रमध्ये सर्लाहीको हरिवन र लालबन्दी क्षेत्र पनि पर्छन् । स्थानीय कृषि थोकबजारको तथ्याङ्कअनुसार यस क्षेत्रमा करिब दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडाखेती हुँदै आएको छ ।
यहाँ उत्पादित गोलभेँडा हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ र पोखरालगायत देशका प्रमुख बजारमा पुग्ने गरेको छ । स्थानीय बजारका साथै सस उद्योगलगायतमा पनि सर्लाहीमा उत्पादित गोलभेँडाको खपत हुने गरेको छ ।
स्थानीय तथ्याङ्कअनुसार यस क्षेत्रमा वार्षिक करिब १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको छ।