विराटनगर। उद्योग संगठन मोरङले आयोजना गर्ने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहने भएको छ। मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा उद्योग संगठन मोरङ र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सबीच बुधबार विराटनगरमा औपचारिक हस्ताक्षर भएको हो।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिङ्क ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिङ्क ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्।
आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो। करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित हुँदै आएको छ।
यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता तथा मनोरञ्जनलगायतका विभिन्न अवसरसँग जोड्ने तयारी गरिएको आयोजकले जनाएको छ। एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीतिनिर्माताको सहभागिता रहनेछ। आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच अझ विस्तार हुने बताए। उनका अनुसार एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्चका रूपमा विकास भइरहेको छ।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए। उनका अनुसार साझेदारी ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नरही एक्स्पोका विभिन्न गतिविधि तथा अवसरसँग समेत जोडिनेछ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्ककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन्। उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उद्योग संगठन मोरङले विराट एक्स्पो २०२६ मार्फत उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको जनाएको छ।