दुई दशक लामो उतारचढाव र रस्साकस्सीपछि मेलम्चीको पानी सुन्दरीजल झरेको छ । अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंबासीका धारामा बग्ने छ । शनिवार विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् । ‘हामीले युगान्तकारी सफलता प्राप्त गरेका छौँ । लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ । केही दिनभित्रै तपाईँको धारामा पानी वितरण हुनेछ’, स्विच थिचेर सुन्दर जलमा पानी खसालेका प्रधानमन्त्री ओलीले भने ।
जहाँ प्रधानमन्त्री ओलीसहित सरकारको जम्बो टोली सुन्दरी जल पुगेको थियो ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री मणिचन्द्र थापा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र सांसदहरू सुन्दरीजल पुगेका थिए ।
प्रधानमन्त्री ओलीले खाने पानी मन्त्री मणिचन्द्र थापालाई भाग्यमानी मन्त्रीको संज्ञा दिए । हो उनी भाग्यमानी मन्त्री हुन् । उनको पालामा मेलम्चीको पानी काठमाडौँ पुग्यो । मेलम्चीको पानी सुन्दरीजल झर्नु वास्तवमा ओली भनेझैँ युगान्तकारी सफलता नै हो । तर, यसका पछाडि धेरै पात्र र प्रवृत्ति जोडिएका छन् । यही सरकारले आफ्नो पालामा काम सुरु गरेर सम्पन्न भने गरेको होइन ।
अझै खानेपानी मन्त्री थापाले मन्त्रालय सम्हालेको तीन महिना पनि पूरा भएको छैन । हुनत थापाले अब आफ्नो जीवनभर मेरो पालामा मेलम्ची आयो पनि भन्लान् । ओलीले भाषण पनि गर्लान् । हो ओली प्रधानमन्त्री र थापा खानेपानी मन्त्री भएकै बेला मेलम्चीको पानी सुन्दरी जल आइपुग्यो । यो सरकार अझै एक महिना रह्यो भने केही काठमाडौं बासीका धारामा पनि पुग्ला । तर मेलम्चीमा सम्झिनुपर्ने पात्र धेरै छन् ।
२०४१ ताका अध्ययन, २०५२ सालमै खानेपानी लिमिटेड स्थापना
मेलम्चीको पानी खानुभन्दा अगाडि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’लाई सम्झिएन भने अन्याय हुन्छ होला । जसले २०५० सालअघि नै मेलम्चीको पानीले काठमाडौँ पखाल्ने भनेर भाषण गर्थे ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि काँग्रेस नेता भट्टराईले प्राथमिकताको एक नम्बरमा परेको मेलम्चीलाई चुनावी नाराका रूपमा बहसमा ल्याइरहे । २०४८ सालको आम निर्वाचनमा किसुनजीले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। धेरैले ठट्टाकै रूपमा लिए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि किसुनजीले मेलम्चीको पानीले राजधानी धुने नारा छाडेनन् ।
त्यो बेला मेलम्ची खोला राजधानी पुर्याउने विषय नै अपत्यारिलो थियो नै । धेरैले किसुनजीलाई हाँसोमा उडाए । भट्टराईले देखेको मेलम्ची सपना अहिले आएर साकार भएको छ। तर उनी यो भौतिक दुनियाँमा छैनन् । सम्झिनुपर्ने पात्र किसुनजी मात्रै होइनन् । सन् २००० बाट विधिवत् रूपमा मेलम्ची खानेपानी आयोजना सुरु भयो। काम सुरु हुन भने एक दशक लाग्यो । सरकारी लक्ष्य अनुसार १३ वर्षअघि नै सम्पन्न भइसक्नुपर्थ्यो। तर मेलम्ची पूरा हुन थप नौ वर्ष लाग्यो। किन भयो त ढिलाइ ? कारण एउटा मात्र छैन। विभिन्न माग राखेर अवरोध गर्ने स्थानीयदेखि दीर्घकालीन योजना बनाउन नसक्ने सरकारसम्म यसमा जिम्मेवार छन्।
२०६५ सालमा ५ वर्षभित्र काम सक्ने गरी चिनियाँ कम्पनी सीआरसीसीलाई ठेक्का दिइयो । २०६९ सालसम्म २७ किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले ठेक्का तोड्यो । २०७० सालमा इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिइयो । तीन वर्षको अवधिमा काम सक्ने भनिएको थियो । २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर काममा फेरि ढिलाइ भयो । कम्पनी नै टाट पल्टिएपछि २०७५ माघमा सीएमसी निर्माण स्थल छोडेर हिँड्यो ।
२०७६ असोजपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । पछिल्लो समय ओली सरकारकै पालामा मेलम्चीबारे उल्लेख्य काम भएको मान्न सकिन्छ । समय समयमा विभिन्न विवाद र उतारचढाव आए पनि यही सरकारको पालामा मेलम्ची सपना साकार हुने भयो ।
यसमा सम्झिनुपर्ने एक पात्र निवर्तमान खानेपानी मन्त्री बिना मगर पनि हुन् । हाल नेकपा विवादका कारण उनी सरकारबाट बाहिरिएको भए पनि आफ्नै मन्त्री कालमा मेलम्ची ल्याउने गरी उनले धेरै मेहनत गरेकी थिइन् । मगरको करिब तीन वर्षे कार्यकालमा ३० प्रतिशत काम भएको उनी निकटकाहरु बताउँछन् । यतिका वर्षमा करिब ७० प्रतिशत मात्रै काम भएको थियो । मन्त्री कालमा मेलम्ची उद्घाटन गर्ने उनको सपना थियो । तर त्यो पूरा हुन सकेन । भाग्यमानी मन्त्री भएर निस्के वर्तमान खानेपानी मन्त्री मणि थापा ।
निश्चय नै मेलम्चीको पानी काठमाडौँमा झर्नु ऐतिहासिक हो । काठमाडौँवासीका लागि यो खुसीको कुरा पनि हो । अहिले फलानोले गर्दा मेलम्ची आयो भन्नुभन्दा मेलम्ची आउन दुई दशक लाग्यो । यो दुई दशक बढीको समयमा कसले के गरे इतिहासले मूल्याङ्कन गर्ला । अनि क-कसले यसमा जालझेल गरे त्यसको पनि हिसाबकिताब इतिहासमा रहने नै छ । यो अवधिमा ज-जसले जे-जे योगदान गरे सबैलाई धन्यवाद ।