काठमाडौं – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि सबैले आफ्नो जिम्मेवारी इमानदारी, जिम्मेवारीबोध र सजगताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उहाँले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाउने क्रममा ज्यान गुमाएका युवालाई स्मरण गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको जनधनको क्षतिलाई देशको इतिहासकै पीडादायी घटनाका रूपमा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार घटनामा धेरै युवा घाइते भई जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने अवस्था सिर्जना भयो भने निजी तथा सार्वजनिक सम्पत्तिमा समेत ठूलो क्षति पुग्यो । राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमाउनुपरेको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले अब त्यस्तो दुःखद् अवस्था दोहोरिन नहुनेमा जोड दिनुभएको छ । सुशासनको अभावमा संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसक्ने सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको उहाँको भनाइ छ ।
“राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ,” कार्कीले भन्नुभएको छ । उहाँले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन स्थापित गर्न तथा नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको एक वर्ष पूरा नहुँदै मुलुक अर्को पीडादायी अवस्थाका रूपमा भोटेकोशी बाढीको सामना गरिरहेको उल्लेख गर्नुभएको छ । विपद्को यस कठिन घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न तथा एकअर्काको सहारा बन्दै विपद्को सामना गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।