काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै मूल्य बढाउने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै कार्कीले नेपाल आयल निगमले बाढीपीडितका लागि गरेको सहयोगको तुलनामा उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताए।
निगमले बाढीपीडितका लागि २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको उल्लेख गर्दै उनले सोही अवधिमा ग्यासको मूल्य बढाउँदा काठमाडौं उपत्यकाका उपभोक्तामाथि मात्रै मासिक ११ करोड ५९ लाख १८ हजार रुपैयाँ अतिरिक्त भार परेको बताए।
‘२५ लाखको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ?’ कार्कीले प्रश्न गरे।
उनले एलपी ग्यास हरेक वर्गका नागरिकका लागि आधारभूत आवश्यकता बनिसकेको भन्दै यसको मूल्यवृद्धिको प्रत्यक्ष असर विपन्नदेखि मध्यम वर्गसम्म परेको बताए। ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाउँदा उपत्यकामा मात्रै उक्त अतिरिक्त भार परेको उनको भनाइ थियो।
सरकार र सरोकारवाला निकायको ध्यान काठमाडौं उपत्यकामा मात्रै केन्द्रित भएको भन्दै कार्कीले उपत्यकाबाहिरका नागरिकका समस्या पनि सम्बोधन गर्न माग गरे। ‘हामी केवल काठमाडौँको ५० लाख जनसंख्याको मात्र कुरा गरिरहेका छौँ’ भन्दै उनले उपत्यकाबाहिरका नागरिक पनि समान रूपमा प्रभावित भएको बताए।
पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव समग्र बजारको मूल्यमा पर्ने र आम नागरिकको जीवन थप कष्टकर बन्ने भन्दै कार्कीले मूल्यवृद्धिको निर्णयमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराए।