काठमाडौँ ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार, खोजी तथा राहत कार्यमा सरकार सम्पूर्ण सामर्थ्यका साथ जुटिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार हालसम्म १२ हजार ३८ जनाको जीवितै उद्धार गरिएको छ भने १ हजार २५९ जनाले ज्यान गुमाएका छन्।
बाढीमा परी अझै ५ हजार ८३ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य निरन्तर जारी राखिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। विस्थापित नागरिकहरूको अल्पकालीन व्यवस्थापनका लागि नुवाकोट, रसुवा र काठमाडौँमा होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएका छन्।
अन्तर्राष्ट्रिय समुदायको उल्लेख्य सहयोग यस घटनालाई जलवायु परिवर्तनको असरका रूपमा औँल्याउँदै प्रधानमन्त्री बालेनले भारत, चीन, अमेरिका, बेलायत, युरोपेली संघ लगायतका मित्रराष्ट्रहरूबाट ठुलो परिमाणमा राहत तथा आर्थिक सहयोग प्राप्त भइरहेको बताएका छन्। साथै, विश्व बैंक र एसियाली विकास बैंक (ADB) ले पुनर्निर्माणका लागि सहुलियतपूर्ण कर्जा तथा अनुदानको प्रतिबद्धता जनाएका छन्।
सरकारले उपलब्ध सम्पूर्ण स्रोत-साधनको अधिकतम उपयोग गर्दै जनजीवन सामान्य बनाउन अहोरात्र खटिरहेको प्रतिबद्धता जनाएको छ।