काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ ।
बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवसँग वंशाणुगत सम्बन्ध भिडाएर सनाखत गर्न आफन्तहरूको नमुना संकलन थालिएको हो । विभिन्न अस्पतालमा राखिएका बेवारिसे शव आफ्ना आफन्तको हुनसक्ने आशंकामा परिवारका सदस्यहरू काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा डिएनए परीक्षणका लागि पुगिरहेका छन् ।
प्रहरी अस्पतालका अनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तको रगतको नमुना संकलन गरी शवबाट प्राप्त नमुनासँग मिलान गर्ने प्रक्रिया अघि बढाइएको छ । पहिचान हुन नसकेका शवको वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।
बाढीमा परी ठूलो संख्यामा मानवीय क्षति भएको छ भने कैयौं अझै बेपत्ता छन् । आफन्तको अवस्था अज्ञात रहँदा परिवारजनमा बेचैनी बढेको छ । सरकारले बेपत्ताको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको भए पनि फेला परेका कतिपय शवको पहिचान हुन नसक्दा परिवारलाई बुझाउन समस्या भइरहेको छ ।
डिएनए परीक्षणमार्फत शवको पहिचान खुलेपछि परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइनेछ ।