काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन, अवरुद्ध सडक सञ्जाल पुनःस्थापना र होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापनलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गर्दै घिसिङले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र स्थानीयस्तरमा देखिएको आक्रोशबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिमा ठूलो असन्तुष्टि रहेको बताए । ‘अब लाश व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ,’ उनले भने, ‘लाश व्यवस्थापनमा अलिकति ढिलाइ भयो भन्ने आक्रोश छ ।’
अवरुद्ध सडक सञ्जाल तत्काल सुचारु गर्नुपर्नेमा जोड दिँदै उनले सडक कनेक्टिभिटीमा ढिलाइ गर्न नहुने विषयमा सरकारलाई स्पष्ट सुझाव दिएको बताए ।
भेटमा होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्थापनबारे पनि छलफल भएको घिसिङले बताए । उनका अनुसार प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
घिसिङले विपद्को पूर्वतयारीमा कमजोरी भएको स्वीकार गर्दै अहिलेको संकट समाधानका लागि सरकारसहित सबै पक्ष एकताबद्ध भएर जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए । ‘त्यो ल्याप्सलाई करेक्सन गरेर अब सबैले यसलाई एकताबद्ध भएर समाधानतिर कसरी लैजाने भन्ने विषयमा हामी पनि लाग्नुपर्छ,’ उनले भने ।