काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सभाकक्षमै ढलेका छन्।
खड्का ढलेपछि कांग्रेसका सांसदहरूले उनलाई उठाएर बाहिर लैजाने प्रयास गरेका थिए। त्यसबेला सांसद सोम शर्मा बोलिरहेका थिए। घटना भएपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई केहीबेर बोल्न रोकेर सांसद खड्काको अवस्थाबारे जानकारी लिएका थिए। केहीबेरपछि भने शर्मालाई पुनः बोल्न अनुमति दिइएको थियो।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयमै गरिएको प्रारम्भिक परीक्षणमा खड्काको रक्तचाप उच्च देखिएको छ।
गिरीका अनुसार खड्काको सामान्य परीक्षणपछि थप उपचारका लागि वीर अस्पताल लैजाने तयारी गरिएको छ।