काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार राजधानी जोड्ने सडकदेखि पहाडी जिल्लाका विभिन्न मार्गमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा छन्।
काठमाडौँ–धादिङ जोड्ने सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा १० टनसम्मका मालवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
रसुवा जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। उक्त सडक लामो समयसम्म अवरुद्ध रहन सक्ने प्रहरीको आकलन छ।
त्यसैगरी, नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यातायातको उच्च चाप रहने पृथ्वी राजमार्गको अवस्था पनि प्रभावित भएको छ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। परेवा भिरमा भने साना सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन्। जवाखोला र कमेरेभिरमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, बाढी, पहिरो तथा सडकको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।