भोजपुर– पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण तथा क्षेत्रको संरक्षणमा जोड दिएसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।
समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँटसहित मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति तथा पर्यटकका लागि विश्रामस्थल निर्माण गरिएको छ। धार्मिक महत्वसमेत रहेको यस क्षेत्रमा पूजाआजाका लागि भक्तजनसमेत पुग्ने गरेका छन्।
भोजपुर–लेगुवा सडकखण्ड नजिकै रहेकाले अरुण डाँडामा सहज रूपमा पुग्न सकिने हुँदा पर्यटकको सङ्ख्या बढ्दै गएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए। उनका अनुसार पर्यटकलाई लक्षित गरी आवश्यक पूर्वाधार निर्माण तथा वृक्षरोपण गरिएपछि क्षेत्रको प्राकृतिक सौन्दर्य थप आकर्षक बनेको छ।
सहरी क्षेत्रको व्यस्तताबाट केही समय टाढा रहेर प्राकृतिक वातावरणमा रमाउन तथा स्थानीय परिकारको स्वाद लिन पनि मानिसहरू अरुण डाँडा पुग्ने गरेको स्थानीय लालबहादुर तामाङले बताए। पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरसमेत सिर्जना हुन थालेको उनको भनाइ छ।
गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी अरुण डाँडाको पर्यटन विकासलाई योजनाबद्ध रूपमा अघि बढाएको छ। यस क्षेत्रलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए।
उनका अनुसार आगामी दिनमा अरुण डाँडाको थप प्रचारप्रसार तथा आवश्यक पूर्वाधार विकास गरी बाह्य पर्यटकसमेत आकर्षित गर्ने योजना गाउँपालिकाले बनाएको छ।