रूपन्देही । भदौ १० गते आएको बाढीले बगाएर गण्डक हुँदै भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाको खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाइएको हो ।
भारतीय प्रहरीले पाँच शव मंगलबार र चार शव बुधबार नेपाल ल्याएर हस्तान्तरण गरेको जनाएको छ । नेपाल ल्याइएका शवमध्ये एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन् ।
बेलहियामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शवहरू बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
खड्डा थानाका सबइन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट शवहरू फेला परेका हुन् । उक्त स्थान नेपाल–भारत सीमामा रहेको गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा पर्छ ।
बुधबार नेपाल ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्षकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्षका युवकको शव रहेको प्रहरीले जनाएको छ ।
पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवहरू सुरक्षित राखेर पञ्चनामा तयार गर्नुका साथै गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो । शवबाट डीएनए लगायत आवश्यक प्रमाणसमेत सुरक्षित राखिएको उनले जानकारी दिए ।