काठमाडौं। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये १ हजार १० जनाको शव फेला परेको छ। अझै करिब ४ हजार नेपाली बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाढी प्रभावित ११ हजार ८ सयभन्दा बढीको उद्धार गरिएको जानकारी दिए। उद्धार गरिएकामध्ये करिब ३२४ जना विदेशी नागरिक छन्। तर, ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको मन्त्रालयको तथ्यांक छ।
खोजी, उद्धार, स्थानान्तरण र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारको तत्कालीन प्राथमिकता बेपत्ताको खोजी तथा जीवितको उद्धार, प्रभावितलाई तत्काल राहत र नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्नु रहेको पौडेलले बताए।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि भारत र चीनबाट विशेष टोली परिचालित छन्। भारतका २४ सदस्यीय दुई टोलीले नेपाली सेनासँगको सहकार्यमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा काम गरिरहेका छन् भने चीनको नौ सदस्यीय टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खोजी गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको मन्त्रालयले जनाएको छ।
मृतकको पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले २९ अगस्टदेखि नेपाली निकायसँग काम गरिरहेको छ। चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलबार साँझ नेपाल आइपुग्ने पौडेलले बताए। सिंगापुरबाट पनि विपद् पीडित पहिचान टोली ल्याउने विषयमा समन्वय भइरहेको छ।
पहिचान हुन नसकेका शवको फरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। पहिचान खुलेपछि परिवारलाई शव बुझाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
बेपत्ताका परिवारलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित देश, नेपाली कूटनीतिक नियोग र परिवारसँग समन्वय गरिरहेको छ।
सरकारले लिडार, बेली ब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, भारवहन उपकरण, शव ब्याग, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरसहितका उपकरण उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागेको छ। बाढीबाट भएको क्षतिको मूल्यांकनसँगै राहत, उद्धार र पुनर्निर्माणका लागि मित्रराष्ट्रबाट सहयोग जुटाउन कूटनीतिक पहलसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार जापान, कतार, सिंगापुर र मलेसियाका समकक्षीसँग टेलिफोन वार्ता गरेको, र मंगलबार साँझ क्यानडाका समकक्षीसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।