काठमाडौं। करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको त्रुटि अब सात दिनभित्र आफैं सच्याउन पाउने भएका छन्। आन्तरिक राजस्व विभागले कर प्रशासनलाई पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउने भन्दै भ्याट विवरण संशोधन र विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) सम्बन्धी व्यवस्था कडाइका साथ लागू गरेको हो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार यसअघि विवरण प्रविष्ट भइसकेपछि सामान्य अंकगत त्रुटिसमेत सच्याउन कर कार्यालय धाउनुपर्ने अवस्था थियो। अब विवरण पेस गरेको सात दिनभित्र करदाताले घरबाटै विवरण रुजु गरी त्रुटि सच्याउन सक्नेछन्।
‘अहिले सात दिनको समय दिइएको छ, जसमा करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्नेछन्,’ भुसालले बताए। यसबाट कर कार्यालयमा हुने भीडभाड घट्नुका साथै करदाताको समय बचत हुने विभागको अपेक्षा छ।
विभागले ईटीडीएस दाखिला प्रक्रियालाई पनि समयबद्ध बनाएको छ। कानुनअनुसार प्रत्येक महिनाको २५ गतेभित्र कर कट्टी गरी दाखिला गर्नुपर्ने भए पनि कतिपय निकायले रकम लामो समय रोक्ने र आर्थिक वर्षको अन्त्यमा मात्रै दाखिला गर्ने गरेको पाइएको विभागले जनाएको छ।
अब कर कट्टी भएको रकम समयमै प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। अर्को महिनाको २५ गतेसम्म पनि रकम प्रणालीमा नदेखिए सम्बन्धित करदाताले रकम किन र कसले रोकेको हो भनेर प्रश्न गर्न सक्ने व्यवस्था गरिएको भुसालले बताए।
करको दायित्व कम देखाउन ‘ब्याक डेट’ मा विवरण प्रविष्ट गर्ने जस्ता हेरफेरसमेत हुने गरेको उल्लेख गर्दै भुसालले नयाँ व्यवस्थाले त्यस्ता गतिविधि नियन्त्रण हुने बताए। समयमै ईटीडीएस दाखिला हुँदा राज्यकोषमा राजस्व जम्मा हुने प्रक्रिया पनि व्यवस्थित हुने विभागको भनाइ छ।
नयाँ व्यवस्थाले करदाताले कर कट्टीको प्रमाण खोज्दै भौचर बोकेर कर कार्यालय धाउनुपर्ने अवस्थासमेत अन्त्य गर्ने विभागले जनाएको छ। विभागका अनुसार यी सुधारले कर प्रशासनमा पारदर्शिता, जवाफदेहिता र सुशासन बढाउन सहयोग पुग्नेछ।