काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। सञ्चालनमा रहेका आठ आयोजनाको ३५४.१ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने निर्माणाधीन पाँच आयोजनाका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा प्रवद्र्धक कम्पनीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनासहित करिब ७५० मेगावाट बराबरको विद्युत् उत्पादन तथा निर्माण प्रभावित भएको छ। नदीमा आएको अत्यधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजना बन्द गर्नुपरेको हो।
रसुवामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला आयोजनाबाट विद्युत् उत्पादन रोकिएको छ। यी चार आयोजनाको कुल क्षमता २३१ मेगावाट छ।
नुवाकोटमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार आयोजनाको १२३.१ मेगावाट उत्पादन प्रभावित भएको छ। एकैपटक ३५४.१ मेगावाट उत्पादन रोकिँदा काठमाडौं उपत्यका र आसपासका औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।
बाढीले निर्माणाधीन आयोजनामा पनि ठूलो क्षति पुर्याएको छ। रसुवामा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको पहुँचमार्ग, एडिट टनेल र साइट क्याम्पमा क्षति पुगेको छ। १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए आयोजनाका बाँध तथा पेनस्टक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ।
नुवाकोटतर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्रीमा क्षति पुगेको छ।
प्रारम्भिक विवरणअनुसार प्रभावित १३ आयोजनामध्ये नौवटा निजी क्षेत्रका छन्। निजी क्षेत्रका आयोजनामा उत्पादन तथा निर्माणतर्फ ठूलो क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ। इप्पानका अनुसार निजी क्षेत्रका जलविद्युत् आयोजनामा मात्र पाँच अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ।
बाढी र पहिरोका कारण त्रिशूली–काठमाडौं प्रसारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएकाले आयोजना स्थलसम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउनसमेत कठिन भएको छ। लाङटाङ खोला आयोजनाका दुईवटा प्रसारण टावर ढलेका छन्। माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकको डाँडो भासिएपछि तत्काल रोकथामको काम थालिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिरो हटाउने र नदीको सतह घट्नेबित्तिकै आकस्मिक मर्मत सुरु गरिनेछ। अवस्था अनुकूल भए सञ्चालनमा रहेका आयोजनाबाट एकदेखि तीन साताभित्र क्रमशः विद्युत् उत्पादन पुनः सुरु गर्ने लक्ष्य प्राधिकरणको छ।