काठमाडौं। नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित देशसँग माग्नुपर्ने बताएका छन्।
सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टीको राजधानी प्रदेश कमिटीले रसुवा बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले जलवायु तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको बताए।
मानवीय गतिविधि र वातावरण विनाशमा विकसित देशको योगदान बढी रहेको दाबी गर्दै उनले त्यसबाट सिर्जित क्षतिको भार न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता देशले व्यहोर्नु अन्यायपूर्ण भएको बताए। नेपालले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गरे पनि जलवायुजन्य विपद्को क्षति भोग्नुपरेको भन्दै उनले विकसित देशबाट क्षतिपूर्ति पाउनुपर्ने धारणा राखे।
‘नेपालजस्ता देशहरू हामी जिम्मेवार छैनौँ, विकसित देशहरूको जिम्मेवारी छ,’ ओलीले भने।
उनले आफूले संयुक्त राष्ट्रसंघमा समेत जलवायुजन्य क्षतिपूर्तिको विषय उठाएको तर त्यसमा अपेक्षित अन्तर्राष्ट्रिय ध्यान जान नसकेको बताए। रसुवा बाढीपछि नेपाललाई सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद दिँदै उनले तत्कालीन राहत सहयोगसँगै दीर्घकालीन जलवायु क्षतिपूर्तिको विषय पनि उठाउनुपर्ने बताए।
कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने तर उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउने देशलाई क्षतिपूर्ति दिने अधिकारका रूपमा ‘कार्बन ट्रेड’को अवधारणालाई स्थापित गर्नुपर्ने ओलीको भनाइ छ। उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो क्षतिपूर्तिको दाबी गर्नुपर्ने बताए।
रसुवा बाढीलाई तत्कालको विपद्का रूपमा मात्रै नहेरी भविष्यमा अझ ठूलो जोखिम आउन सक्ने संकेतका रूपमा बुझ्नुपर्ने पनि ओलीले बताए।