काठमाडौं। राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले रसुवागढी बाढीबाट प्रभावितको तत्काल प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा जुट्न सरकारसँग आग्रह गर्दै विपत्तिको सामना गर्न दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता सुवेदीले भदौ १० गते रसुवागढीको टिमुरे नाकामा आएको बाढीलाई इतिहासकै क्रूर र हृदयविदारक घटनाका रूपमा चित्रण गरे। उनले उद्धारमा अझै ढिलाइ भइरहेको र सुरक्षा निकाय स्रोतसाधनको अभावमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो सामर्थ्यअनुसार काम गरिरहेका छन् तर कतिपय स्थानमा अझै पनि उद्धारमा ढिलाइ भइरहेको छ,’ उनले भने।
सुरुङ उद्धारजस्ता प्राविधिक काममा सरकार अल्झिनुभन्दा सुरक्षा निकायसँग समन्वय, विदेशी संघसंस्थासँग सहकार्य र राहत सामग्री वितरणलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
सुवेदीले सुत्केरी, महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्न माग गरे। सरकार सामाजिक सञ्जाल र समाचारमा बढी सक्रिय देखिए पनि घटनास्थलमा उपस्थिति कमजोर रहेको उनले टिप्पणी गरे।
बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत करिब दुई दर्जन जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले चीन, भारतलगायत विभिन्न देशका सयौँ पर्यटकसमेत बेपत्ता रहेको बताए।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग विभेदरहित व्यवहार गर्दै तीनै तहबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिँदै सुवेदीले राहत, उद्धार र पुनःस्थापनाका लागि सबै राजनीतिक दल तथा सरोकारवालालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।