काठमाडौं। सरकारले रसुवा बाढीबाट प्रभावित ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ। सम्बन्धित देशका दूतावाससँग समन्वय गरी उनीहरूको अवस्थाको तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाढीपछिको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग मागिएको बताए।
उनका अनुसार सुरुङमार्गमा उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शव खोज्न आईएसएआरलगायत आधुनिक प्रविधि, शव सुरक्षित राख्न थप फ्रिजर तथा मृतकको पहिचानका लागि फरेन्सिक र डीएनए परीक्षणसम्बन्धी उपकरण तथा किट्स आवश्यक छन्।
‘हामीलाई सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आइएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ,’ क्षेत्रीले भने।
सरकारले केही फ्रिजर प्राप्त गरिसकेको र थप आउने क्रममा रहेको जनाएको छ। राहत वितरणका लागि आवश्यक केही सामग्रीको समेत माग गरिएको प्रवक्ता क्षेत्रीले बताए।
दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भने विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) सम्पन्न भएपछि आवश्यक सहयोगको खाका तय गरिने उनले बताए।