काठमाडौं। रसुवा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा हालसम्म प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली टोलीसँगै भारत र चीनबाट आएका सुरुङ उद्धार विशेषज्ञहरू उद्धार कार्यमा खटिएको बताए। उनका अनुसार कठिन भौगोलिक अवस्थाका बीच उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।
‘टनेल रेक्स्युको लागी हाम्रो टिम पहिलेदेखी नै खटिईराखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ । त्यहाँको भुगोलको असहज अवस्था र कठिनाईलाई पन्छाउँदै उहाँहरुले दिनरात नभनी काम गरिरहनुभएको छ । तर केही बेर अगाडीसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन । उहाँहरु प्रयासरत नै हुनुहुन्छ ।’ क्षेत्रीले बताए।
भारतबाट आएका २४ सदस्यीय दुई उद्धार टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली विभिन्न जलविद्युत् आयोजनामा परिचालित छन्। भारतीय टोली नेपाली सेनासँगको सहकार्यमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा उद्धारमा खटिएको छ भने चिनियाँ टोली माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खोजीमा परिचालित छ।
दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ। बाढी आएको सात दिन बितिसक्दा पनि चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ लगायत आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन।