काठमाडौं। भोटेकोशी बाढीपछि रसुवामा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तले दबाब अभियान थालेका छन्। मंगलवार उनीहरूले आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर तत्काल उद्धार थाल्न माग गरेका हुन्।
काँकडभिट्टाका कृष्ण खरेलले बाढी आएको सातौँ दिनमा मात्र उद्धार सुरु भएको भन्दै राज्य र निर्माण कम्पनीले सुरुङमा फसेका कर्मचारी तथा कामदारप्रति संवेदनहीन व्यवहार गरेको आरोप लगाए। बाढीले आयोजनाको कार्यालयसमेत बगाएकाले सम्पर्कविहीन कर्मचारीको यकिन तथ्यांकसमेत नरहेको कम्पनीको भनाइप्रति उनले असन्तुष्टि जनाए।
आफन्त आफैँ खोजी तथा उद्धारमा जान खोज्दा सरकारले अनुमति नदिएको र उद्धारका लागि हेलिकप्टरसमेत उपलब्ध नगराएको उनको गुनासो छ। उद्धारमा ढिलाइ भएको भन्दै पीडित आफन्तले सोमबार साँझ कम्पनीको कार्यालयमा तोडफोडसमेत गरेका थिए।
‘अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकहरूमाथि पशुवत् व्यवहार भइरहेको छ,’ खरेलले भने।
उनका अनुसार आयोजनामा कार्यरत ८७ जनाको सूची प्राप्त भएकोमा ४३ जना सुरुङभित्र रहेको जानकारी आफन्तले पाएका छन्। सुरुङको प्रवेशद्वार ठूलो ढुंगाले रोकिएको भनिएपछि उद्धारका लागि प्राविधिक टोली परिचालन गर्नुपर्ने अवस्था रहेको उनले बताए। उद्धारका लागि आवश्यक जेनेरेटरको व्यवस्था आफन्तले नै गर्न थालेको उनको भनाइ छ।
आफन्तले नेपाली सेनाको सहयोगमा ‘सगरमाथा उद्धार टोली’सहित हेलिकप्टर परिचालनको अनुमति माग्दै सम्बन्धित निकायसँग समन्वय गरेको बताएका छन्। सरकारले मंगलवारदेखि जलविद्युत् आयोजना निर्माण कम्पनीलाई सुरुङ तथा टनेलमा फसेकाको उद्धारका लागि अनुमति दिएको जनाएको छ।
रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा टनेलमा अझै करिब ९ सय कर्मचारी तथा कामदार उद्धारको पर्खाइमा रहेको बताइएको छ।