पोखरा। रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र पोखरा ल्याइएका १०२ जनाको पोस्टमार्टम पूरा भएको छ। तीमध्ये पहिचान हुन नसकेका ७८ शवलाई डीएनए नमुनासहित सुरक्षित रूपमा व्यवस्थापन गर्न थालिएको छ।
पोखरामा राखिएका शवमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ जना रहेका थिए। तीमध्ये २४ शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिचान हुन नसकेका शवको पोस्टमार्टमकै क्रममा डीएनए नमुना संकलन गरिएको छ। नमुना विधि विज्ञान प्रयोगशालामा पठाइनेछ। भविष्यमा आफन्त सम्पर्कमा आएर डीएनए मिलेको अवस्थामा शव हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए।
बेपत्ता व्यक्तिका आफन्तले नजिकको प्रहरी कार्यालयमार्फत रगतको नमुना उपलब्ध गराउन सक्नेछन्। उक्त नमुना शवबाट संकलित डीएनएसँग मिलेमा पहिचानपछि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा तोकिएको सुरक्षित स्थानमा व्यवस्थापन गरिँदै छ। उक्त स्थानलाई तारजालीले घेरेर अनधिकृत प्रवेशमा रोक लगाइनेछ।
प्रत्येक शवमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ, जसले भविष्यमा पहिचान खुलेमा सम्बन्धित शव पत्ता लगाउन र आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने प्रहरीले जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा मृत्यु भएका तथा अंगभंग भएका कारण पहिचान हुन नसकेका शव पोखरा ल्याइएको हो। प्रहरीले शवको अन्त्येष्टि नभई वैज्ञानिक तथा कानुनी प्रक्रियाअनुसार सुरक्षित व्यवस्थापन मात्र गरिएको स्पष्ट पारेको छ।