काठमाडौं। भोटेकोशी बाढीपछि अलपत्र परेका २ सय ८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार ५ सय ९१ पर्यटक अझै सम्पर्कविहीन छन्। उद्धार गरिएका र सम्पर्कविहीनमध्ये स्वदेशी तथा विदेशी दुवै नागरिक छन्।
बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा संकलित विवरणअनुसार उद्धार गरिएकामध्ये १ सय ८० भारतीय र ८९ चिनियाँ नागरिक छन्। अन्य देशका पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बोर्डले हालसम्म १२ देशका पर्यटकसम्बन्धी विवरण संकलन गरी आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा अद्यावधिक गरिरहेको छ। विपद्को सूचना पाएलगत्तै बोर्डले कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालासँग समन्वय गरी पर्यटकको अवस्थाबारे विवरण संकलन सुरु गरेको शर्माले बताए।
उनका अनुसार सूचना संकलनका लागि गुगल फर्म, इमेल र ह्वाट्सएप प्रयोग गरिएको छ भने पर्यटक प्रहरीमार्फत विवरण प्रमाणीकरण भइरहेको छ।
‘हामीले पर्यटन बोर्डमा हेल्प डेस्क स्थापना गरेका छौँ,’ शर्माले भने, ‘सम्पर्कविहीन पर्यटकका परिवार र आफन्तलाई सूचना उपलब्ध गराई आश्वस्त पार्ने काम भइरहेको छ।’
तातोपानी तथा सीमा क्षेत्रका होटल र अध्यागमन कार्यालय आसपासबाट पर्यटकसम्बन्धी बढी सूचना प्राप्त भइरहेको बोर्डले जनाएको छ। कतिपय पर्यटक अध्यागमन पार गर्ने क्रममा र कतिपय होटलमा रहेकै अवस्थामा सम्पर्कविहीन भएका छन्। ट्रेकिङ तथा टुर एजेन्सीले समेत आफ्ना पर्यटकको विवरण उपलब्ध गराइरहेका छन्।
पर्यटकको खोज तथा सूचना प्रवाहका लागि बोर्डले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित देशका दूतावाससँग समन्वय गरिरहेको छ। नेपाल प्रहरीले तोकेका सम्पर्क व्यक्ति र अस्पतालको सूचीसमेत सार्वजनिक गरी उद्धार तथा राहत कार्यमा सहजीकरण भइरहेको बोर्डले जनाएको छ।