काठमाडौं। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा १७ लाख ६२ हजार ९ सय ५७ रुपैयाँ हस्तान्तरण गरेको छ।
पार्टी सदस्य तथा शुभेच्छुकबाट संकलित रकम सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर जिल्ला सभापति तीर्थ लामाले सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई हस्तान्तरण गरेका हुन्।
भदौ १० मा भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउन रकम संकलन गरिएको लामाले बताए।
उनका अनुसार उक्त रकम कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइनेछ। कांग्रेसले यसअघि सरकारी राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।
सहमहामन्त्री राणाले विपद्को समयमा पीडितलाई सहयोग गर्न कांग्रेस काभ्रेले गरेको योगदानप्रति आभार व्यक्त गरे। प्रवक्ता चालिसेले काभ्रे कांग्रेसको सहयोगले बाढीपीडितको घाउमा मलम लगाउन सहयोग पुग्ने बताए।
जिल्ला सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु र राहत तथा उद्धारमा हातेमालो गर्नु सबैको साझा दायित्व भएको बताए।