चितवन — रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।
तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको हो।
बाढीमा परेपछि बेपत्ता भएका पौडेलको शव पहिचान गरी जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्।
बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।