त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको संख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ। निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधिसहितको उपचार सेवा उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको हो।
आर्थिक वर्ष २०७८/७९ मा १३ हजार ६३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकामा चार वर्षपछि आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर २६ हजार ५०७ पुगेको छ।
आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख महेन्द्र खड्काका अनुसार निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, पञ्चकर्ममार्फत विभिन्न रोगको उपचार तथा प्रयोगशाला सेवा उपलब्ध भएपछि सेवाग्राहीको संख्या बढेको हो।
केन्द्रले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्द्धनसम्बन्धी औषधि तथा पोषिलो खानेकुरासमेत उपलब्ध गराउँदै आएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा केन्द्रबाट २६ हजार ५०७ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये ओपिडी सेवा आठ हजार ६५८ जनाले लिएका छन्।
त्यस्तै, पञ्चकर्म सेवा दुई हजार ५११ जनाले, योग सेवा एक हजार ४०१ जनाले तथा ज्येष्ठ नागरिक सेवा तीन हजार ६४० जनाले लिएका छन्।
नागरिक आरोग्य सेवाअन्तर्गत पाँच हजार २२५ जनालाई सेवा प्रदान गरिएको छ। यसैगरी ल्याब सेवामा एक हजार १९, शल्य सेवामा २६६, स्तनपायी सेवामा ४१२ तथा गाउँघर क्लिनिकमार्फत एक हजार २०२ जनाले सेवा लिएका छन्। अन्य सेवाबाट एक हजार ४९ जना लाभान्वित भएको केन्द्रले जनाएको छ।
आयुर्वेदिक उपचार निःशुल्क र भरपर्दो भएकाले आफूहरू नियमित रूपमा सेवा लिन आउने गरेको त्रिवेणी गाउँपालिका–२ की ५४ वर्षीया देउमती ओलीले बताइन्।
“केन्द्रमा निःशुल्क चेकजाँच हुन्छ, औषधि पनि निःशुल्क पाइन्छ,” उनले भनिन्, “आर्थिक रूपमा कमजोर नागरिकका लागि यो सेवा निकै सहज भएको छ। निःशुल्क उपचार पाउँदा हामी खुसी छौँ।”
केन्द्रले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीअन्तर्गत पञ्चकर्म, योग, नागरिक आरोग्यलगायत सेवा प्रदान गर्दै आएको छ। हाल जिल्लाका सबै छ स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रममार्फत सेवा विस्तार गरिएको छ।
आयुर्वेदिक उपचार तथा स्वस्थ जीवनशैलीसम्बन्धी सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको केन्द्रले जनाएको छ।